उत्तरसँग जोडिने रेल पहिलो प्राथमिकतामा रहनुपर्छ

समाचार

रेल्वे चाहिन्छ भन्ने कुरा बहसमा छ । नेपालको अन्तर्राष्ट्रियरुपमा कनेक्टिभिटीको कुरा गर्दा हामी कि हवाइरुपमा जोडिने हो, कि स्थल यातायात, मुख्य गरी रेल्वेबाटै हो । हवाइ जहाजमार्फत जोडिँदाका सीमाहरु छन् । त्यो खर्चिलो पनि छ । उड्डयनमा ‘प्वाइन्ट टू प्वाइन्ट कनेक्सन’

हुन्छ । त्यसले ‘बल्क कार्गो’ बोक्न सक्दैन । त्यसले औद्योगीकरणको साना (लाइट) उद्योगलाई मात्रै काम गर्ला, ठूला (हेभी) कम्पनीलाई लजिस्टिक पक्षबाट आर्थिक रुपमा प्रतिस्पर्धी बनाएर सहयोग गर्न सक्दैन हवाइ यातायातले ।हामीलाई बाह्य संसारसँग जोडिन रेल्वे कनेक्टिभिटीको भरपर्दो विकल्प छैन । हामी चीनसँग रेलमार्फत जोडिन सक्यौं भने फाइदा हुन्छ । वर्षमा हजारौं कन्टेनर युरोपबाट चीन र चीनबाट युरोप गरिरहेका छन् । चीनसँग रेलबाट जोडिँदा हामी मध्य, मध्यपूर्व र पश्चिम एसियालगायतका क्षेत्रसम्म पनि यातायात सञ्जालमा जोडिन्छौं । त्यसबाट आउने लाभ अथाह हुन्छ र त्यसले ‘गेम चेन्ज’ गर्न सक्छ । हामी अहिले ट्रान्जिटमा पूर्णरुपमा भारतमा निर्भर छौं । त्यो निर्भरतालाई कम गर्न सन् २०१५ मा चीनसँग ट्रान्जिट ट्रान्सपोर्ट सम्झौता भयो । २०१९मा त्यसको प्रोटोकल फाइनल गर्‍यौं । त्यो प्रोटोकलमा हस्ताक्षर गरे पनि हामीले साँच्चिकै ट्रान्जिटलाई आर्थिक रुपमा सम्भाब्य हुने गरी प्रयोग गर्ने हो ‘सिमलेस मुभमेन्ट अफ कार्गो’ आवश्यक पर्छ, त्यो पनि रेल्वेबाटै । रेल नभई हामी चीनको ट्रान्जिट प्रयोग गर्न सक्दैनौं ।

हामी अहिले चीनबाट ट्रान्जिट पायौं भनेर कराइरहेका छौं । तर, यदि रेलले जोड्न सकेनौं भने त्यसको कुनै अर्थ छैन । यही कारण हाम्रो उत्तरसँगको रेलको कनेक्टिभिटी रणनीतिकरुपमा पनि महत्वपूर्ण छ । यसलाई हामीले विशद्ध ‘फाइनान्सियल रेट अफ रिटर्न’ (बनेपछि रेलबाट उठ्ने राजस्व) का आधारमा हेर्न हुँदैन । यो हाम्रो राष्ट्रियताको सवाल पनि हो, यो हाम्रो अन्तर्राष्ट्रिय ‘इन्टिग्रेसन’ पनि हो । सँगै, यसले ल्याउने आर्थिक लाभका पक्षहरु पनि जोडिन्छन् ।त्यसैले हामी रेलबाट उत्तरमा चीनतर्फ जोडिनुपर्छ । त्यसका लागि दुईवटा सवाल छन् । निर्माणका लागि वित्तीय स्रोतको जाहो र प्रविधि महत्वपूर्ण मुद्दा हुन् । वित्तीय स्रोत समस्याको विषय हैन, प्रविधि विषय महत्वपूर्ण हो ।

म प्राविधिक त हैन । म रेलको विज्ञ पनि हैन । तर, मैले जति पनि रेल्वे बुझेका प्राविधिहरुसँग कुराकानी गरेँ, उत्तरतर्फबाट रेल ल्याउन खर्चिलो छ, गाह्रो छ, तर सम्भव छ भन्नुहुन्छ । नेपालको जस्तै कठिन भूगोलमा चीनले छेन्दुबाट ल्यासासम्म जोड्ने रेल बनाइरहेको पनि छ । हाम्रोमा निर्माण गर्न अझ सहज नहोला । नेपालमा आउने रेल छेन्दुबाट आउनेभन्दा भूगोलका हिसावले अप्ठेरो त हैन, उचाइको फरक लगायतका कारण निकै असहज चाँहि छ । यो प्राविधिकरुपमा कति सम्भाव्य भनेर प्राविधिकले नै भनुन् । तर, यो कुनै नाफा-घाटाको भनेर हेर्ने परियोजना हैन । यो रेलमार्ग चाहिन्छ ।
यसको महत्व र औचित्यका आधारमा यसलाई पहिलो (टप मस्ट) प्राथमिकतामा राख्नुपर्छ । यो नेपाललाई अन्य देशसँग जोड्ने र नेपालको अर्थतन्त्रलाई कायापलट गराउने परियोजना हो । यो हाम्रो पहिलो प्राथमिकतामा हुुनुपर्ने हो । अहिले किन सरकार पूर्व-पश्चिम रेलमार्गतिर किन गएको हो भनेर मैले भन्न सक्ने अवस्था रहेन ।

रणनीतिक महत्वका हिसाबले हेर्दा दक्षिण (भारत)बाट नेपाल रेलले जोडिने कुरा व्यवसायिकरुपमा नै अर्थपूर्ण छ । त्यसले त कोलकत्तादेखि कै कार्गोलाई फेसिलेटेड गर्छ । हाम्रो ढुवानी खर्च घटाइदिन्छ र अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाइदिन्छ ।उत्तरतिरबाट जोड्ने कुराको चाँहि रणनीतिक महत्व पनि छ र त्यसले हामीलाई बाहिरको संसारसँग नै जोड्छ । त्यसैले यी दुई रेलमार्गलाई सबैभन्दा बढी प्राथमितामा राखेर जानुपर्छ ।यो योजना बनाउँदा नै ध्यान दिनुपर्ने विषय हो । यो राष्ट्रिय स्वार्थको कुरा हो । यो तपाईंको र मेरो सवाल हैन । यो सवालमा हामी विभाजित भयौं भने चीन लगानी लिएर नआउन पनि सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *